सकारात्मक सोच र टीम वर्को को नमूना Dallas Everest Talent Show 2008

दिसेम्बर महिना को त्यो चिसो डालसको मौसमलाई  पनि ख्याल नगरि हामी सबै लायन्स साथीहरु मिलेर न्यानो अनुभूति दिइ रहेका थियौं त्यो रेगुलर मिटिंगमा। सबै साथीहरु उत्साहित थिए । मिटिङ्गमा प्रेसिडेंट लायन्स महेन्द्र पौड्यालले हाम्रो वार्षिक कार्यक्रम An Evening In Nepal को एजेण्डालाई अगाडि सार्नु भयो । म लागायत सबै साथीहरु उत्साहित भएको भान थियो तर मलाई लाग्थ्यो कि म अरु भन्दा बढी नै उत्साहित थिए । गत साल  नेपाल जानु परेकोले त्यो कार्यक्रमको स्वाद चाख्न पाएको थिएन । नेपालबाट फर्किंदा सबै ठांऊमा त्यहि कार्यक्रमको बखान सुन्दा आफूलाई कता कता उत्सुकता र त्यो प्रोग्रामबाट बंचित हुन परेकोमा दुख: लाग्थ्यो । तर म त्यति छिट्टो हार खाने मान्छे त पक्कै हैन,  त्यसैले पनि यो सालको प्रोग्रामले मलाई अरुलाई भन्दा उत्साहित गरिरहेको थियो, कता कता मलाइ च्यालेन्ज दिइ रहेको जस्तो।

पोहरको प्रोग्राममा मैले क्लबको लागि केहि गर्न सकेको थिएन , त्यसैले आफूले आफैलाई बाचा गरेको थिए कि यो साल म अरु लायन्स भन्दा कम चाहि हुन्न  भनेर । त्यसपछिको हरेक मिटिङ्गमा म एकदम excited  हुन्थे र आफूलाई लागेको कुराहरु पनि राख्थे। यसरी नै दिनहरु बितिरहेको थियो । कार्यक्रम अरु भन्दा पृथक बनाउने कुरा र पहिले भन्दा बढि दर्शकलाई सामेल गराउने कुरा चैं महेन्द्रजीले मेरै मनको कुरा चोर्नु भएको जस्तो लाग्यो । किनकि गत वर्षहरुको अनुभवले के सिकायो भने fund raise भनेर प्रोग्राम  गरियो तर हात‍मा लागे सुन्ना,  सबै खर्च काटेपछि खास पैसा बचेको पाइएन । अनि कुन रुपले हामी सेवा गर्ने ? लायन्सको We Serve  भन्ने नारालाइ  मूर्त  रुप दिन धेबा (fund) को पनि त तेतिकै जरुरत पर्दथ्यो । कति दिन लायन्स मेम्बरसिप फी को भरमा क्लब चलाउने ? त्यसैले यो साल ठूलै अनि अलि बेग्लै रुपले कार्यक्रम पस्कने कुरामा सबै लायन्स साथिहरुको एक मतलाई  म सलाम नगरि बस्न सक्दिन । त्यहि अनुरुप का्र्यक्रम मार्च महिनाको २२ तारिखमा गर्ने सहमति अनुरुप कर्यक्रमको ढांचा सबै साथीहरुले प्रस्तुत गरियो तर लायन्स बिनिताजी को imagination र idea लाइ सबै साथीहरुले नमान्ने त कुरै भएन । Dallas Everest Talent Show बिनिताजी कै imagination थियो । हुनपनि बिनिताजी र ट्रेजरजीलाई लायन्सको पूरानो कार्यक्रमहरुको अनुभव थियो । बिनिताजीलाइ राम्रो थाहा छ,  नयां र पूरानो पुस्ता के खोजिरहेको छ भनेर ।

झन झन का्र्यक्रमको दिन नजिक आयो म धेरै उत्साहित हुन थाले । रातमा निद्रा कम लाग्न  थाल्यो त्यो प्रोग्रामको कस्तो हुन्छ होला भनेर । त्यो पनि अर्भिंग आर्ट सेन्टरमा ७०० दर्शकहरुको माझमा, कहिलेकाहिं मन मा च्वास्स चिसो पर्थ्यो हाम्रो कार्यक्रम सफल त होला ? को कस्ले भाग लेला ? सबै साथीहरुको समय मिल्ला यो प्रोग्राम सफल बनाउन ? आदि, इत्यादि कुरा खेल्दा खेल्दै म कति बेला निदाउथे थाहै हुदैन्थ्यो । यहि रुपले हामी सब लायन्सहरु आ-आफ्नो जिम्मेवारि निभाउदै गयौं । लायन्स बिनिता र लायन्स महेन्द्र का साथै हाम्रा चर्चित मीठो बोलीका धनी लायन्स चन्द्र प्रसाईंले हाम्रो प्रतियोगिता हुने घोषणा इमेल, वेब साइट र रेडियो मार्फट डालसभर  फिजाउनु भयो । अनि त झन सबै लायन्स साथीहरुमा जिम्मेवार थप्दै गयो साथमा कार्यक्रको बोझ पनि । अब हाम्रो महत्वाकांक्षा लायन्स मिटींङ्ग मा मात्र सिमित रहेन । अर्को कुरा यो प्रोग्राम अब लायन्स अजय, लायन्स महेन्द्र र कुनै ब्यक्ति बिशेषको मात्र  थिएन, यो प्रोग्राम हामी सबै लायन्सको थियो । हाम्रो निर्णयले अब लोकल समाजका साथै district मा समेट चर्चा पाउन थालेको थियो किनकि गत सालहरुको सम्झना यति छिट्टो भूल्न कहां सकिन्छ  र । यहि सिलसिलामा बिनिताजी र महेन्द्रजीले प्रोग्रामको बारेमा सहभागिहरुको रेस्पन्स पाएको खबरले मेरो मनमा भएका केहि शंकालाइ मेट्न सफल भयो,  सहभागीहरु त रहेछन् नि भनेर । तर भनिन्छ नि ठूलो सपना एकै पल मा पूरा भयो भने विस्वास गर्न गार्हो हुन्छ  भने जस्तै,  शनिबार जब म Temptation Restaurant  मा ठूलो नेपाली जमातमा हाम्रा प्रोग्रामका सहभगीहरुलाई भेट्दा अब चै हाम्रो कार्यक्रम पक्का सफल हुन्छ  भन्ने सकारात्मक बिचारले मनमा डेरा जमायो । हुनत यो भन्दा अगाडि पूरै नकारात्मक पनि थिएन तर मलाइ पीर  थियो त कार्यक्रममा सहभगिहरु को होला भनेर ? र का्र्यक्रमको कल्पना गर्दा, त्यो सानोतिनो निर्णय त पक्कै थिएन । नेपाली समाज तथा दिस्ट्रिक्टमा समेत इज्जतको कुरा थियो । त्यो पहिलो शनिबार सबै सहभागिहरुको Orientation र Photography को काम सकेपछि मैले लायन्स बिनिताजीलाई भित्री मन देखि बधाई का साथै कार्यक्रम सफलताको कामना गरे किनकि उहांको त्यो साहास अनि तेत्रो ठूलो कार्यक्रम उहाको नेत्तृत्वमा अगाडि बढि रहेको थियो जुन चानचुने मान्छेको वसमा थिएन । म मन मनै दंग थिए  र २२ मार्च कहिले आउला भनि दिन गनि रहे किनकि मैले यि सबै सहभगिहरुलाई अर्भिंङ्ग आर्ट सेन्टर को मंच मा कल्पना गर्न थालि सकेको थिए । त्यहि दिनमा यी सब कालाकारहरुलाई म मेरो क्यामेरामा उतारेर सबै को वाह वाह पाउन आतुर थिए। त्यहि कुरा कल्पना गर्दा गर्दै घरमा पुगेर सबै सहभगिहरुको फोटो वेभसाइटमा लोड गरे तर मनमा भने एउटा कुराको डर लागि रहेको थियो त्यो के भने सबै साथीहरुलाई त थाहा भएकै कुरा हो रात दिन लायन्स लायन्स भन्दा भन्दै घरको लायनलाइ बाहिर लाने बाचा बिर्सेपछि के हुन्छ भनेर  अब  परेन फसाद ! अनि आफ्नो श्रीमती छोरालाई फकाउनतिर लागे, आफ्नो काम तथा हा्म्रो प्रोग्रामको बारेमा बयान गरे र अर्को हप्ता हामी स-परिवार रिहरसलमा जाने बाचा गरे । हरेक हप्ताको रिहर्सल र जमघतले मेरी श्रीमती र छोरा पनि रामाउन थाले अनि त के चाहियो र हरेक शनिबार  कार्यक्रमको रिहर्सलमा गएर हामी रमाउन थाल्यौ । त्यसैले पनि मलाई लायन्स क्लबले आकर्षित गरेको किनकि यो एउटा फेमिली क्लब हो र यहां हामी छोरा छोरी र श्रीमतीलाई पनि मिटिंङ्ग तथा अरु कार्यक्रममा सहभागी गर्न सक्छौं ।

दिनहरु बित्दै गए सबै प्रोग्रामको फाइनल तयारी सकिंदै गयो । मन खुशी थियो सब लायन्स साथीहरु आफ्नो ब्यस्त जीबनका बाबजुत पनि केहि गरुं भन्ने भावनाले हरेक मिटींङ्ग तथा फोन कन्फरेन्समा उत्साहित  हुन्थे । तर मलाइ मात्र हैन सबै साथिहरुलाई  लायन्स सर्जु रंजितको अनुपस्थिति भने खस्कि रहन्थ्यो तरपनि उहांको ब्यस्तताको बाबजुत उहांबाट पाउने सल्लाह  भने पाइरहेका थियौं । लायन्स सर्जु हाम्रो क्लबको अमुल्य सम्पति हुनुहुन्छ  र उहांले गर्दा नै आज म लायन्स  हुनमा गर्ब गर्न पाइरहेको छु ।

क्लबमा सबै साथीहरु निस्वार्थ  भाबनाका साथ प्रोग्राम सफल बनाउन लागिरहेक थिए  । यस्तो स्वच्छ  भावना कम  मानिसहरुमा मात्र  पाइन्छ । स्कुले जीबनमा महाकवि देवकोटाले आफूले लगाएको कोट मगन्तेलाई दिएको कुरा र वहाको मनको स्वच्छताको गाथा पढेको थिए  तर मलाई लाग्छ  हाम्रो यो क्लबमा र समाजमा पनि यस्ता ब्यक्तिहरु छन् जसले चाह्यो भने जस्तो सुकै त्याग,  बलिदान र सेवा गर्न तत्पर छन् र त्यो पनि यो बिदेशी भूमिमा । यहि कुराले मलाई  झन झन अगाडि बढ्न  प्रेरित  गरायो । म जहिले तुलना गर्थे मैले के गरें भनेर.... कहिलेकांहि मिटिंङ्ग जान अल्छि लाग्थ्यो त्यो बेला हाम्रो चार्टर्ड प्रेसिडेण्ट अजय छोचु्न्ग ज्यूलाइ सम्झिन्छु जुन बेला वंहा ओक्लाहोमादेखि ३ घन्टाको ड्राइभ गरेर मिटिंङगमा आउनु हुन्थ्यो । वंहा र अरु सिनियर लायन्स साथीहरुको माझ त म केहि हैन तर ममा पनि केहि गरुं भन्ने भावना भने पक्कै छ है । म पनि अरु साथीहरु जस्तै आफ्नो पहिचान बनाउन लागि रहेको छु, र आफ्नो समाज र भावि नेपाली पुस्तालाई केहि गरुं भन्ने भावनाले क्यालिफोर्निया छोडेर डालस आए । 

An Evening In Nepal ले यति भावुक बनायो कि आफ्नो मनको कुरा झन्दै यहि पोखेको । प्रोग्राममा सबै साथीहरुको बराबर  मिहिनेत र पसिना परेको त सबै साथीहरुलाई भनि रहनु नपर्ला यसरी नै स्पोन्सर र सहभागि भाइ बहिनीहरुको उत्साहलाई मेरो सलाम छ । मैले डालसमा हाम्रो नेपाली समाजमा यति धेरै स्पोन्सर देखेको शायद यो पहिलो पल्ट थियो । यसबाट प्रमाणित गर्छ  कि लायन्स क्लब  भनेको सबैको आस्था, स्वच्छ  र निस्वार्थ सामाजिक संस्था हो ।

मार्च २० तारिख देखि‍ नै मेरो मनमा कताकता काउकुति लागिरहेको थियो । भर्खर लभ परेको जस्तो बिना कारण हास्न मन लाग्ने । खुशी ठाउंमा थिएन,  मनमा डर र ब्यग्रता दुबै थियो त्यस्तो क्षण १५ वर्ष अगाडिको मेरो प्रेमीका (हाल श्रीमती) लाई भेट्न जांदा मात्र हुन्थ्यो तर  एउटा कुरामा भने बिश्वास थियो मलाई "तिमी इच्छा गर भगवान पूरा गर्नु हुन्छ" भन्ने । यहि बिषयमा लायन्स महेन्द्र संग फोनमा बारंबार कुरा हु्न्थ्यो र उहाको सकारात्मक सोचलाई मैले मानेको छु । अर्को कुरा बिनिताजीको प्रखर लिडरसिप देखेर मैले पनि धेरै कुरा सिक्न पाए किनकि रिहर्सलको दौरनमा वंहा एकपल्ट पनि बिचल्लित हुनु भएन ।

मैले मार्च २१ तारिखमा काम बाट छुट्टी लिए किनकि मेरो धेर्यता को बांध टुटि सकेको थियो । २ दिन अगाडि देखि मैले क्यामेरा, ब्याट्रि र मलाई चाहिने Equipment  हरु जोड्न थाले किनकि म यो साल  कुनैपनि कुरामा Compromise  गर्नेवाला थिएन । कार्यक्रमको दिन बिहान देखि म, मेरो छोरा र श्रीमती ब्यस्त थियौं प्रोग्राममा जान । सांझ ७ बजे प्रोग्राम शुरु भयो । म आफ्नो जिम्मेवारी बहन गर्नतिर लागे । मनमा भने कता कता डर पनि थियो र कार्यक्रम सफल हुन्छ भ‍न्ने विश्वास पनि । कार्यक्रम सुचारुप ले अगाडि बढ्यो दर्शकहरुको ताली र उल्लेखनिय सहभागिताले मेरो छाती गर्बले फूलेको थियो तर त्यो लायन्सको पहेंलो ज्याकेट भने खुबै मिस् भइरहेको थियो । यस्तो सम्म कि अरु साथीहरुको त्यो ज्याकेट नै खोसेर लांऊ जस्तो । सबै सहभागिहरुले सोचेको भन्दा राम्रो कार्यक्रम प्रस्तुत् गर्नुभयो । मलाई सुनिल भाइको गीतले भने खुबै भावुक बनायो र त्यहि बेला धरहाराको टुप्पोमा गएर मेरो चन्द्र सूर्य फरफराउ जस्तो तर वास्तविकता म मेरो देशबाट हजारौं माइल टाढा थिए । मैले सुनेको थिए कि कति दर्शकहरुको त आंखाबाट आशू बगिरहेको थियो । यो कुरा त गीत सकेपछिको तालीको गदगदाहत  र वोन्स मोरको अनुरोधले नै प्रामाणित गरेको थियो । तिलस्मी बिस्ट Dallas Everest Most Talented 2008  को उपाधि जित्न सफल भइन् एबं रित ले आज्ञा शर्मा दोस्रो र सुनिल सापकोटा तेस्रो घोषित भयो । हाम्रो दश जना सहभागिहरु एक से एक थियो । मलाइ जज् मा राखेको भए सब नंबर वान हुन्थ्यो तर के गर्ने आफू पर्यो क्यामेराम्यान तर जे भए नि सबै Winner  हुन् । हाम्रो नेपाली समाजका सम्पति हुन् । कार्यक्रम सकेको घोषणा पाश्चात सबै दर्शकहरुको मंचमा ओइरो देखेर म कतै हलिउडको कुनै कलाकारको फोटो खिचि रहेको त छैन भनि यताउता आंखा घुमाए तर त्यो क्षण हलिउड र बलिउडको भन्दा कम भ‍ने पक्कै थिएन किनकि हामी नेपालीहरु यो देशमा आएर सिमित स्रोत र साधनका बाबजुत पनि यस्तो ठूलो कार्यक्रम गर्नु चानचुने कुरा थिएन । यो सब सकारात्मक सोचाइ र टीम वर्क को उपज हो । यसरी म दंग भएर घर फर्केर आफूले खिचेको फोटो र भिडियो घरि घरि हेरेर कति बजे निदाए थाहै भएन ।

स्वयम्भू राज शाक्य
Dallas Everest Lions Club